काठमाडौं : उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा तानिएका छन् । हिजो पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउनका लागि आन्दोलन गर्ने बताएका थिए ।
महतोले भनेका थिए, ‘हामी हाम्रा मुद्दाहरू स्थापित गरेर छाड्छौं, बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छौं । सरकारमा आउने निर्णय त्यसैका लागि हो ।’ सत्तारुढ दल एमालेका वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् ।
बामदेव गौतमको स्टाटस जस्ताको त्यस्तै :
नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।
राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।
एमालेका युवा नेता योगेश भट्टराईले पनि फेसबुक स्टाटसमार्फत महतोको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
योगेश भट्टराईको स्टाटस जस्ताको त्यस्तै :
पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु । संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।