काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का बरिष्ट नेता एवं पूर्वमन्त्री राजकिशोर यादवले महन्थ ठाकुर समूह नछाडेको स्पष्ट पारेका छन् । मन्त्री पद नपाएपछि अध्यक्ष उपेन्द्र यादव समूहमा लागेको चर्चा चलेपछि उनले महन्थ ठाकुर पक्ष नछाडेको स्पष्ट पारेका हुन् ।
उनलेआफू पार्टी एकताको पक्षमा रहेको पनि बताए । ‘पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन’, नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा उनले भने, ‘पार्टी एकताका लागि प्रयास गरिरहेको छु ।’ उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको उनको भनाई छ ।
नेता यादवले आफूलाई मन्त्री मन्ने इच्छा नभएकै कारण मन्त्री बन्न प्रयास नगरेको दावी गरेका छन् । उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री बन्न राजकिशोर यादवल आग्रह गरेको हो वा होइन भनेर सोध्न अनुरोध पनि गरे । ‘म कहिल्यै पनि मन्त्री बन्छु भनेर भनेको छैन । मलाई इच्छा भएको भए उहाँहरूसँग भन्ने थिए । म असन्तुष्ट होइन’, उनले भने, ‘पार्टी एकताको लागि प्रयासरत व्यक्ति हुँ ।’
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवसँग नजिक भएका कारण मन्त्री नबनेको भनेर आएका आरोपहरूलाई पनि नेता यादवले खण्डन गरेका छन् । ‘म इच्छुक पनि नभएर हो । उपेन्द्र यादवसँग नजिक भएर पनि होइन । हल्का टिप्पणी गर्नु हुँदैन’, यादवले भने, ‘राजनीति बिग्रियो । राजनीतिलाई उपभोक्तावादी बनाइयो । म मन्त्री नै बन्न चाहेको थिएन । म अहिले खुसी छु ।’
‘मैले समूह परिवर्तन गरेको छैन । विभिन्न प्रकारका शक्तिहरूले पार्टीलाई कसरी कमजोर बनाउने भनेर लागेका छन्’, उनले भने, ‘म ठीक ठाउँमा छु । पार्टीमा समस्या छ । कठिनाइ छ । जटिल अवस्थामा छ । केही साथीलाई पार्टी एकता मन परेको छैन । पार्टी ठूलो भयो भने ठाउँ पाउँदैन भन्नेहरू पार्टी एकताका विरोधी हुन् ।’
नेता यादवले भने, ‘क्षणिक लाभ लिन पल्किएकाहरूबाट पार्टी कमजोर हुन्छ ।’ नेता यादवले जसपालाई फेरि एकठाउँमा ल्याएर बलियो पार्टी बनाउन लागेको बताएका छन् । उनले भित्रभित्र पार्टी एकताका लागि कुरा भइरहेको बताएका छन् ।