रौतहट : भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको झण्डै ३१ लाख रुपैयासहित २ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घोडासनका २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँका २० वर्षीय सुरज कलवार रहेका छन् ।
उनी दुबैजनाबाट नगद ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको छ । परोहा नगरपालिका ९ रामपुरखापबाट बुधबार उनी दुबैजना पक्राउ परेको प्रहरीले जनाएको छ । रकमको स्रोत उनीहरुले खुलाउन नसकेपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनीहरु हुण्डी कारोबारी हुन् ।
दुबै जनाले प्रयोग गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जनामाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको रौतहट प्रहरीले जनाएको छ ।