काठमाडौं : जनता समाजवादी पार्टी९जसपा०को कारबाही प्रकरणबारे अर्को साता मात्रै निर्णय लिने भएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले १८ जेठमा एकरअर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर त्यसैदिन अभिलेखबाट हटाउन निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए ।
आयोगले ती निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुप नभएको भन्दै १९ जेठमा खारेज गर्दै कागजात पुर्याएर पुनः पेस गर्न निर्देशन दिएको थियो । आयोगले दुवै पक्षलाई नियमावलीको अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन भनेको थियो । ठाकुर समूहले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको केन्द्रीय कार्यकारिणी समितिको माइन्यूट नबुझाएको भन्दै त्यो पनि बुझाउन भनेको थियो ।
यादव समूहले कार्यकारिणी समितिबाट कारबाही गरेको निर्णयको माइन्यूट १९ जेठमै आयोगमा पेस गरेको थियो । तर, ठाकुर समूहले भने २३ जेठमा पार्टीको केन्द्रीय सचिवालयका सबै कर्मचारीलाई कोभिड-१९ संक्रमण भएको भन्दै एक साताको समय मागेको थियो ।
ठाकुर समूहले मागेको समय शुक्रबार सकिँदैछ । त्यो समय सकिएपछि मात्रै दुवै पक्षले पेस गरेका कागजातका आधारमा निर्णय लिइने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
‘जसपाका अध्यक्षद्वयले एकरअर्कालाई कारबाही गरेको सम्बन्धमा निर्णय अर्को साता मात्रै हुन्छ । महन्थ ठाकुर समूहले २३ जेठमा एक साताको समय मागेको थियो । त्यो समय भोलि सकिन्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘अर्को सातामात्रै हामीले दुवै पक्षले बुझाएका कागजात हेरेर निर्णय लिन्छौँ ।’ – इकागज