काठमाडौं : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ-ठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए । ‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एकरदुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ’, पौडेलले भने, ‘वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँ-ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।’
उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन । मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/ चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।
सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।