जपनकपुरधाम : अब प्रदेश २ का हरके स्थानीय तहमा दलित छात्राबास र जेष्ठ नगारिक आवास बन्ने भएको छ । प्रदेश सरकारले आज ल्याएको नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरेको हो ।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्राबास र जेष्ठ नागरिक आवास कार्यक्रमलाई यस आर्थिक वर्षमा सम्पन्न गरी उक्त योजनालाई क्रमशः महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत विस्तार गरिनेछ ।’
यस्तै नमूनाको रुपमा प्रत्येक जिल्लामा १/१ वटा आधुनिक र प्रविधिमैत्री बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेकोमा उक्त स्थानहरुमा एकीकृत पूर्वाधार विकास कार्यक्रमको स्वरुपलाई थप प्रभावकारी बनाइनेछ ।
प्रत्येक जिल्लाको सदरमुकाममा प्रादेशिक अतिथि सदन निर्माण गर्ने पनि प्रदेश सरकारले घोषणा गरेको छ । जनकपुरमा मधेस सम्मेलन केन्द्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हाल प्रथम चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालित डोम, मुसहर, मेस्तर र हलखोरको घर निर्माणलाई निरन्तरता दिइनेछ । साथै अब अन्य दलित, लोपोन्मुख लगायतका लक्षित वर्गमा यो आवास कार्यक्रम पुर्याइने घोषणा पनि गरिएको छ । प्रदेश प्रमुख दलित विपन्न स्वरोजगार कार्यक्रमलाई पनि सञ्चालन हुने बताइएको छ ।