टुडेखोज, जनकपुरधाम : संघीय सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाबाट संकटमा परेका मजदुर तथा विपन्नका लागि राहत प्याकेज नल्याउँदा व्यापक आलोचना भयो । प्रदेश सरकारले भने रोजगार विहिन दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्नका लागि राहत प्रदान गर्ने घोषणा गरेको छ । यो योजना अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको हो ।
कोरोनाबाट रोजगारी गुमाएका श्रमिक वर्ग, विपन्न तथा शहिद परिवारका आश्रितहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै कोरोनाबाट मृत्यू भएका प्रदेशका नागरिकका आश्रितलाई र भेन्टिलेटरमा उपचाररत संक्रमितलाई राहत सहयोग दिने नीति पनि लिइने बताइएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका वा स्वदेशमै उद्यम गर्न उत्साहित यूवाहरुलाई प्रोत्साहन गर्न ‘नवप्रवर्तन कृषि रोजगार तथा व्यवसाय प्रवद्र्धन कार्यक्रम’लाई निरन्तरता दिइएको छ । कोरोनाले रोजगारी गुमाएका युवाहरुका लागि मुख्यमन्त्री युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।
यस्तै कोरोनाबाट प्रभावित पर्यटन क्षेत्र र होटल व्यवसायको पुनरुत्थान गर्न आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि प्रदेश सरकारले गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावित यातायात क्षेत्र तथा उद्योग, व्यवसाय लक्षित सहुलियत कार्यक्रम पनि ल्याउने भनेको छ