टुडेखोज, काठमाडौं : सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध आन्दोलन गर्दा पक्राउ परेका नागरिक अगुवाहरुलाई रिहा गर्न सोलिडारिटी फर डा केसी अलायन्सले माग गरेको छ ।
अलायन्सका संयोजक डा. जीवन क्षेत्रीले विज्ञप्ती जारी गरेर नागरिक अगुवाहरुलाई रिहा गर्न माग गरेका हुन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध प्रदर्शनमा उत्रिएका खगेन्द्र संग्रौला, नारायण वाग्लेसहितका २० जना नागरिक अगुवालाई वालुवाटारबाट प्रहरीले समातेका हुन् । हेर्नुस् प्रेस विज्ञप्ति :
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई रिहा गर, माफियाको सेवा बन्द गर
चिकित्सा शिक्षामा नांगो राजनीतिक हस्तक्षेप तथा स्वास्थ्य सेवाको चरम् व्यापारीकरणविरुद्ध सडकमा उत्रेका बृहत् नागरिक सञ्जालका १८ जना अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड महामारीका बेला सरकारले देशको संविधान नै कुल्चिन हुने अनि आम नागरिकले सडकमा अनुशासित र शान्तिपूर्ण प्रदर्शन गर्न नमिल्ने भन्ने कुरा लोकतन्त्रमा कहीं कतै हुनै सक्दैन । सरकारी अस्पताल डुबाएर प्रधानमन्त्री निजी अस्पतालको उद्घाटन र प्रचारप्रसारमा हिंडेकैले आज नेपालमा सीमित धनाढ्य मानिसले बाहेक अरुले स्वास्थ्य सेवा लिनै नसक्ने अवस्था बनेको हो ।
यो अवस्थामा स्वास्थ्य र चिकित्सा शिक्षा सुधारको अभियानमा बृहत् नागरिक सञ्जाल समेत जोडिंदा एक दशकदेखि चलेको सुधार अभियानले फड्को मार्ने तथा सरकारले नागरिक मारेर माफिया पोसिरहेर सुख नपाउने हाम्रो ठहर छ । यसै कारणले नागरिकसित डराएको सरकार दमनमा उत्रेको भन्ने हाम्रो ठहर छ ।
आज पक्राउ परेका सबै अभियन्ताहरुलाई तत्काल निःशर्त रिहा गर्न तथा स्वास्थ्य र मेडिकल शिक्षाको माफियाकरण तत्काल रोक्न सरकारसित माग गर्दर्छौं । त्यसो नभएमा देशका सबै सचेत नागरिकहरुतिस हातेमालो गरेर मेडिकल माफियाको सेवामा लिप्त ओली सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं ।
– डा जीवन क्षेत्री
संयोजक, सोलिडारिटी फर डा केसी अलायन्स