टुडेखोज, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ल्याएको नागरिकता सम्बन्धि अध्यादेश सर्वोच्च अदालतले कार्यान्वयण नगर्न आदेश दिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
नागरिकता सम्बन्धि अध्यादेश जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको पहलमा राष्ट्रपतिले ल्याएकी थिइन् । उक्त अध्यादेश रोकेपछि अध्यक्ष ठाकुरले नागरिकता सम्बन्धी समस्या भयावह हुने चेतावनी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले अध्यादेश पनि कानून नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको टिप्पणी गरे ।
‘३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको थियो । संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय नै गर्न सकेन’, ठाकुरले भने, ‘ नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ ।’
यस्तै नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले त नागरिकता अध्यादेश रोक्ने सर्वोच्चका न्यायधिसमाथि महाभियोग लगाउन माग नै गरेका छन् । नेकपाका अन्य नेताहरु पनि नागरिकता अध्यादेश रोकेकोमा आपत्ति जनाएका हुन् । अब फेरी मधेसका लाखौं जनता नागरिकता लिनबाट बञ्चित हुनेछन् ।