टुडेखोज, जनकपुरधाम : शुक्रवार दिउँसो धनुषाको मुखियापट्टी मुसहरनिया ५ लक्ष्मीपुरमा नवनिर्मित पोखरीमा डुबेर ५ बालिकाको मृत्यू भयो । उक्त घटनाले लक्ष्मीपुर गाउँ नै शोकाकुल बनेको छ ।
मृतकका परिवारमा चुलो बलेको छैन । उनीहरुलाई तत्काल राहत उपलब्ध गराउनुपवर्ने आवाज उठेको छ । मृतक बालिकाहरुको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरमा हुँदैछ । प्रदेशमा भर्खर मन्त्री भएका काँग्रेस संसदीय दलका नेता रामसरोज यादव मृतकका आफ्न्तलाई भेटेर राहतको घोषणा गरेको बुझिएको छ ।
मन्त्री यादव यादवले मृतकका परिवारलाई १ लाखका दरले राहत दिने घोषणा गरेको उनकै सहयोगीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । यस विषयमा बुझ्न फोन गर्दा मन्त्री यादवले रिसिभ गरेन ।
यता, प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले मृतक परिवारलाई राहत दिने आधिकारिक निर्णय नभएको प्रतिक्रिया दिए । उनले भने, ‘अहिले निर्णय भएको छैन । के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’
