टुडेखोज, जनकपुरधाम : जनकपुरधाम उद्योग बाणिज्य संघले व्यवसाय खोल्न दिन र व्यवासयीलाई कोरोनाविरुद्धको खोप लगाइदिन स्थानीय प्रशासनसँग माग गरेको छ ।
संघका अध्यक्ष जीतेन्द्र महासेठले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन–पत्र बुझाएर यस्तो माग गरेका हुन् । कोरोनाका उच्च जोखिममा रहेका जिल्लाका ६ सय व्यवसायी र सोही संख्यामा रहेका मजदुरलाई पहिलो प्राथमिकतामा राखेर कोरोना खोप लगाइदिन ज्ञापन–पत्रमार्फत अनुरोध गरिएको छ ।
यस्तै निषेधाज्ञाका कारण ४० दिनदेखि व्यवसाय बन्द हुँदा समस्यामा परेको भन्दै स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिन संघले माग गरेको छ । प्रमुख जिल्ला अधिकारी बास्तोलाले मन्त्रालयसँग सल्लाह गरी आवश्यक निर्णय लिने बताएका छन् ।

