पोखरा : राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।
गुरूङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपाको महन्थ ठाकुर पक्षको पत्रसहित दाबी गरेका छन् । तर, जनता समाजवादीका सांसदहरूले भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् । बाबुराम भट्टराई निकट ती सांसदहरूले आफूहरूले हिजै विपक्षीलाई साथ दिन भन्दै हस्ताक्षरसमेत गरिसकेको बताए ।
यद्यपी जनता समाजवादीको महन्त पक्षको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो । विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् ।
पार्टीले आफूलाई गरेको कारबाही गैह्रकानुनी भएको भन्दै उनले मुख्यमन्त्रीमा गुरूङलाई समर्थन गर्ने बताएका हुन् । २७ गते विश्वासको मत नपाएका गुरूङले अहिले फेरि दाबी गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा श(शरीर उपस्थित गराई मुख्यमन्त्रीको दाबी गरिसकेका छन् ।
जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् । गठबन्धनले हिजो नै मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरे पनि प्रदेश प्रमुख पौडेलले तोकिएको समय सीमासम्म अध्ययन गर्ने बताएकी थिइन् ।