पोखरा : नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए ।
यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए । गुरुङको दाबीले प्रदेशमा नयाँ सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको भन्दै त्यसलाई रोक्न प्रतिपक्षी दलहरू प्रदेश प्रमुखको पुगेका हुन् ।