टुडेखोज, जनकपुरधाम : सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)कै साँसद उपेन्द्र महतोले झण्डावाल गाडीलाई लखेटेर मन्त्री कुट्ने समय आउन लागेको बताएका छन् ।
कोरोनाको तेस्रो लहर आउन लागेको प्रसँगमा प्रदेशसभा बैठकमा साँसद महतोले भने, ‘पहिलो र दोस्रो लहरमा बढी बृद्धबृद्धाले ज्यान गुमाए । अब आउने तेस्रो लहरमा ठूलो संख्या बालबालिकाको ज्यान जान्छन् । अनी जनता झण्डावाल गाडीलाई लखेटेर मन्त्रीलाई कुट्छन् ।’
प्रदेश सरकारले कोरोनाको तेस्रो लहरबाट जनतालाई जोगाउन केहि पूर्वतयारी नगरेको भन्दै साँसद महतोले संसदमा आक्रोस पोखे । उनले प्रश्न गरे– अहिले नै किन पूर्व तयारी स्वरुप भेन्टिलेटरसहितका समानहरु खरिद गरिरहेको छैन ? के त्यो समयलाई पर्खेर बसेको हो, जुन समयमा अभाव हुन्छ र खरिद गर्दा कमिशन खान पाइन्छ ?’
साँसद महतोले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गिताको उपदेश जस्तो भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम परिवर्तन गर्न माग समेत गरेका छन् ।