टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आज पनि छलफल हुने भएको छ । छफलका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ ।
जेठ २७ मा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । शनिवार भएको छलफलमा सत्तारुढ जसपाकै साँसदहरुले पनि नीति तथा कार्यक्रम परिमार्जन गर्न सुझाव दिए । धेरै साँसदले छलफलमा भाग लिन बाँकी रहेकाले आज पनि छलफलको कार्यसूची रहेको छ ।
कोरोनाको तेस्रो लहरसँग जुध्ने खालको योजना ल्याउन प्रदेश सरकारलाई अधिकांश साँसद सुझाएका छन् । जसपा साँसद रामअशिष यादवले प्रदेशका कम्तिमा तीन ठाउँमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने सुझाव दिए । नेकपा एमालेका साँसद लगनलाल चौधरीले सबैकाम छाडेर अस्पताल निर्माण गर्नमा केन्द्रित हुनुपर्ने बताए ।
नेकपा एमालेकै साँसद मञ्जु यादवले प्रदेश सरकार ५० प्रतिशत महिलालाई आरक्षण दिने वाचा गरेपनि महिलालाई मन्त्री नबनाएकोमा मुख्यमन्त्रीसँग जवाफ मागिन् । उनले जनतालाई भ्रममा पार्ने अधिकार तपाईलाई कसले दियो भन्ने प्रश्न पनि मुख्यमन्त्रीलाई गरेकी थिइन् ।