काठमाडौं : लागुऔषध र हतियारसहित प्रहरीले मोरङबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनवर्षी गाउँपालिका–८ का ६० वर्षीय अब्बास मिया, चेवन कुमार धमला, बिशाल भन्ने खेम भट्टराई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राइका अनुसार अब्बास मियाको घरमा पेस्तोल, त्यसको गोली र लागुऔषध समेत फेला परेको थियो । उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । बुधबार बिहान बेलबारी नगरपालिका १० भाउन्ने जंगलस्थित पूर्वपश्चिम लोक मार्गमा धमला र भट्टराई सवार मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा ५ जना घाइते भएका थिए ।
घाइते मध्ये सुन्दरहरैचा नगरपालिका ९ का चेवन कुमार धमला र बिशाल भन्ने खेम भट्टराईलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शंकास्पद देखेर चेकजाँच गर्ने क्रममा लागु औषध ८९२ पिस नाईट्रोजन ट्याब्लेट र १३।८६० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ फेला पारेको थियो ।
अनुसन्धानको क्रममा त्यो लागुऔषध अब्बास मियाबाट किनेको उनीहरूले बताएका थिए । त्यसपछि प्रहरीले मियाको घरमा खानतलासी गर्दा प्रहरीले एउटा कटुवा पेस्तोल, २ थान गोली, नाईट्रोभेट ६०० ट्याब्लेट, डाईलेक्स डिसी २ बोतल र एउटा चक्कु फेला पारेको थियो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । भारतसँग सिमा जोडिएको मधेसका जिल्लाहरुमा लागुऔषधको कारोबार बढेको छ । निषेधाज्ञा जारी भएका बेला पनि नाकाबाट लागुऔषध भित्रिरहेका छन् ।