काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनका लागि तयारी पूरा भएको बताएका छन् । रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको नेम्वाङको सचिवालयले जनाएको छ । कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने सचिवालयको भनाइ छ ।
मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले कोभिड–१९ को महामारी सामान्य हुने बित्तिकै रेल सेवा सञ्चालनमा आउने भएकाले तयारी अवस्थामा रहन नेपाल रेल्वे कम्पनीलाई निर्देशनसमेत दिए । सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको उनले जानकारी दिए ।
रेलमार्ग निर्माणका क्रममा विभिन्न स्थानमा देखिएका जग्गा मुआब्जाको समस्या समाधानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी समाधान खोज्न रेल विभागलाई निर्देशन दिए । यस्तै रेल सञ्चालन हुन लागेको स्थानसम्म पहुँच सडकको निर्माण अघि बढाउनुपर्नेमा मन्त्री नेम्बाङको जोड थियो ।