काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफल आगामी साउन १५ भित्र ल्याउने गरि तयारी पूरा गरेको हो ।
एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले जानकारी दिए । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी गरेको उनको भनाई छ । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको र सोमबार सार्वजनिक गर्ने तयारी रहेको उनको भनाई छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।
बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिए । त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उनले बताए । विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।
विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ । समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ । गत वर्षको आन्तरिक मूल्याङ्कनमा देखिएको त्रुटि कम गर्न यस पटक आन्तरिक सन्तुलनसहितको मोडालिटी बनाइएको छ । यसबाट विद्यालयमा प्रधानाध्यापकले आफूखुसी अङ्क दिने परिपाटीमा सुधार आउने र वास्तविक मूल्याङ्कनमा सहयोग पुग्ने जनाइएको छ ।
बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको छ ।