टुडेखोज, जनकपुरधाम : आज बसेको प्रदेशसभा बैठक सात मिनेटमै सकिएको छ । बजेट सम्बन्धी अर्थमन्त्रालयले पठाएको पत्र सभामुख सरोज कुमार यादवले पढेर सुनाउ । त्यसपछि नियमावली संशोधन मस्यौदा समिति गठन गरेपछि बैठक सकियो ।
प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ लाई संशोधन गर्न ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा साँसदहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, साबित्री देवी साह र सुन्दर बहादुर विश्वकर्मा रहेका छन् । पाँच जनामध्ये साँसदले समितिको सभापति चयन हुनेछन् ।
मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचना प्रविधिमैत्री बनाउन र प्रदेशसभा तथा सचिवालयलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउन समिति गठनको प्रस्ताव साँसद पारस प्रसाद साहले र समर्थन चमेलीदेवी दासले गरेकी थिइन् ।
सभामुख सरोज यादवले अगामी आर्थिक वर्षका लागि मंगलवार (असार १ गते) दिनको ४ बजे प्रदेशसभा बैठक राखेको जानकारी गराए । अर्थमन्त्री विजय कुमार यादवले बजेट प्रस्तुत गर्नेछन् ।