जनकपुरधाम : प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट मंगलवार प्रदेश सभामा पेश गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पुस्तिका (रातो किताब) तयार गर्ने काम अबेर रातीसम्म भएको थियो ।
कोरोना भाइरसको महामारी र त्यसबाट प्रभावित क्षेत्रलाई बजेटमा प्राथमिका दिएको आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले जनाए । ‘कोरोना भाइरसबाट प्रभावित क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएकोछ,’ उनले भने, ‘स्वास्थ्य, कृषि, सिंचाईलाई विशेष महत्व दिएकोछ ।’
कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी प्रदान गर्ने कार्यक्रमका लागि बजेट राखिएको जनाउँदै मन्त्री यादवले भने, कोरोना प्रभावित क्षेत्रहरुलाई बजेटमा विशेष ध्यान दिइएकोछ । क्रमागत योजनाहरुलाई निरन्तरतादिदै अधुरा रहेका योजनाहरुलाई पुरा गर्न बजेटमा रकम बिनियोजन गरिएकोछ ।कोरोना महामारीबाट प्रभावित किसानहरुलाई राहत र सिंचाईको सुबिधा प्रदान गर्ने कार्यक्रमहरु बजेटमा समावेश गरिएकोछ ।
‘बजेटमा चालु खर्च भन्दा विकास खर्च बढी रहेको छ,’ यादवले भने, ‘करको नयाँ स्रोतहरुको समेत पहिचान गरिएकोछ ।’ अल्मलमा परेको करको स्रोतहरुलाई प्रदेश सरकारको दायरामा ल्याइएको उनले बताए । उनका अनुसार बजेट चालु आर्थिक वर्ष २०७७/०७८ कै हाराहारीमा रहने छ । बजेट निर्माण भइरहेकै बेला प्रदेश मन्त्रिमण्डल पुनर्गठन भएकाले बजेटमा अवण्डा रकम बढी रहने बताइएको छ ।
खासगरि भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, उर्जा मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री आएपछि योजनाको छनौट र बजेटको बाँडफाँड गर्ने समय अभाव भएकाले अबण्डा रकम राखिएको छ । स्रोतका अनुसार चालु बाहेक विकास तर्फको झण्डै ४० प्रतिशत रकम अबण्डा राखिएको छ ।