जनकपुरधाम : प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी खरिद गर्न २० करोड रुपैया विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७८÷०७९ का लागि सदनमा बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रदेशका सबै जनतालाई खोप उलब्ध गराउने घोषणा पनि गरेका छन् । जनकपुरस्थित मनिपाल शिक्षण अस्पताल र मधेस स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा आवश्यक उपचारकका लागि ९ करोड बजेट उपलब्ध गराएको उनले जानकारी दिए ।
अगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको भन्दै कोरोनाबाट जनताको जीउधन जोगाउन प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने हिसावले बजेट विनियोजन गरेको बताए । उनले अस्पतालहरुको स्तरोन्नतीका लागि पनि आवश्यक बजेट विनियोजन गरेको बताए ।
मन्त्री यादवले प्रदेश २ का अस्पतालहरुमा मृगौला विरामीको चाप बढ्दै गएकाले ३५ वटा डायलसिस मेसिन खरिद गर्न १२ करोड रुपैया विनियोजन गरेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा यसअघि ९ करोड बजेट विनियोजना गरिसकेको र अगामी आर्थिक वर्षमा १० करोड विनियोजन गरेको मन्त्री यादवले बताए । उनले थप बजेट आन्तरिक ऋणबाट उपलब्ध गराउने पनि बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नती गर्न आवश्यक बजेट पनि छुट्याएको भन्दै मन्त्री यादवले कोरोना महामारी नियन्त्रणमा खटेका स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई प्रोत्साहन भत्ताको व्यवस्था मिलाएको जानकारी दिए ।