काठमाडौं : ‘सामाजिक अभियन्ता’ भन्नेहरुको दबाबमा महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट सरुवा गरिएका असई मणिकान्त झालाई पुनः सोही कार्यालयमा फिर्ता गरिएको छ ।
आफैँले आफैँलाई अभियन्ता दाबी गर्दै हिँड्ने ज्वाला संग्रौला र उनको समूहबाट प्रहरी कार्यालयभित्रै दुर्व्यवहार खेपे लगत्तै सरुवा गरिएका असई मणिकान्तलाई फेरि महाराजगञ्जमै फिर्ता गरिएको हो । मणिकान्तलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट महानगरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखानामा तानिएको थियो । काज फिर्ता भएपछि उनी बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन् ।
के थियो घटना ?
गत जेठ ११ गते ड्युटीमा खटिएका मणिकान्तसहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेर नियमअनुसार होल्ड गराएका थिए । सामान्य विवाद भएपछि उनीहरुले असई मणिकान्तले आफूहरुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । त्यसपछि उनकै कार्यालय महाराजगञ्ज पुगेका संग्रौलासहितको टोलीले असई झामाथि दुर्व्यवहार गर्दै सञ्चारकर्मीसमेत बोलाएर भिडियो खिच्न लगाएका थिए ।
उक्त भिडियो केही दिनअघि ‘भाइरल’ भयो । भिडियोमा देखिएअनुसार संग्रौलासहितको टोलीले ‘झा‘ मधेशी‘ अब मधेशतिरै गएर खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन‘ जस्ता नश्लीय शब्दसहित दुर्व्यवहार गरेका थिए ।
यतिमात्र होइन भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो रु नाम सुनेको छ रु प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि । तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला । म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असईलई धम्क्याएको देखिन्छ । – खबरहब