जनकपुरधाम : प्रदेश २ सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयको पठनपाठनको लागि ८० सिटको अनुमति दिइएको छ।
चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले स्थापना भएको पहिलो वर्षमै प्रतिष्ठानलाई चार विषयमा ८० सिट अध्यापनका लागि अनुमति दिएको हो । प्रतिष्ठानलाई बिएनएसमा २० सिट, बिपिएचमा २० सिट, बिएससीएमएलटीमा २० सिट र बिएस्सी नर्सिङमा २० सिटमा पठनपाठन गराउने अनुमति दिइएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै वर्ष स्थापना भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले पहिलो वर्षमै प्रतिष्ठानले चार विषयमा अध्यापन गराउन पाउनुको गौरवको विषय भएको जानकारी दिए ।
‘प्रदेश २ सरकारको गौरवको आयोजनाको रुपमा चार महिना अगाडि स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चार संकायमा स्नातक तह अध्यापन गराउन पाएको छ,’ उनले भने, ‘यो सफलताका लागि प्रदेश २ सरकार, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पताललाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’