सिराहा : नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति तथा जिल्ला विकास समितिका सभापतिसमेत रहेका नेता चन्द्र नारायण यादबको २१ औं स्मृति दिवसको अवसर पारेर वडा कार्यालयले फलफूल बितरण गरेको छ ।
स्व.यादबको २१ औं बर्षको स्मृति दिवसको अवसर पारेर सिराहा नगरपालिकाको वडा नम्बर १ कार्यालयले जिल्ला अस्पताल सिराहाका बिरामीलाई शनिबार फलफूल, स्वास्थ्यवद्र्धक पेयजन्य पदार्थ, मास्कलगायतका अत्यावश्यक वस्तु वितरण गरेको छ । वडा नम्बर १ का अध्यक्ष महेशकुमार यादब(पिंकु) को अध्यक्षतामा अस्पतालमा उपचार गराइरहेका १ सयभन्दा बढी बिरामीलाई उक्त बस्तु प्रदान गरिएको वडा अध्यक्ष यादबले जानकारी दिए । अध्यक्ष यादबले बिरामीलाई फलफूल, पेयजन्य पदार्थ, मास्कलगायतका बस्तु बितरण गर्नुका साथै मास्क नलगाएका बिरामीलाई आफै मास्कसमेत लगाइदिएका थिए ।
यसवाहेक यादबकै नेतृत्वमा सिराहा बजारमा हिड्ने पैदल यात्रु, मोटरसाइकलमा सबार यात्रु र टेम्पुका यात्रुलाई पनि निःशुल्क रुपमा मास्क वितरण गरिएको थियो । यसअघि सिराहाको इमली चौकमा वडा अध्यक्ष यादबको अध्यक्षतामा श्रद्धान्जली सभा पनि आयोजना गरिएको थियो ।