सिरहा : चन्द्र नारायण मेमोरियल मेटर्निटी अस्पताल सिराहाले शनिबारदेखि निःशुल्क नर्मल डेलिभरी सेवा सुरु गरेको छ । नेपाली काँग्रेसका तत्कालिन जिल्ला सभापति तथा जिल्ला विकास समितिका सभापतिसमेत रहेका नेता चन्द्र नारायण यादबको २१ औं स्मृति दिवसको अवसर पारेर अस्पतालले सेवा निः शुल्क सुरु गरेको हो ।
कोभिड महामारीलाई ध्यानमा राख्दै यो बर्ष भव्यताका साथ कार्यक्रम मनाउनुको साटो समाजिक दूरी कायम राख्दै सामान्य कार्यक्रमसँगै निःशुल्क नर्मल डेलिभरी सुविधा प्रदान गर्ने उक्त अस्पतालले घोषणा गरेको हो । प्रदेश साँसद नरेशकुमार यादबको प्रमुख आतिथ्यमा आयोजित स्मृति सभामा ट्रस्टका सभापति डा. सुभाषचन्द्र यादबले निः शुल्क नर्मल डेलिभरी सेवाको घोषणा गरेका हुन् ।
३ देखि ४ हजार रुपैयाँ लाग्दै आएकोमा शनिबारदेखि उक्त सेवा निःशुल्क गरिएको डा. यादबले जानकारी दिए । आगामी दिनमा अस्पतालबाट प्रदान गर्दैआएको अन्य सेवा सुविधा पनि क्रमिक रुपमा निःशुल्क गर्दै लैजाने प्रतिवद्धता डा. यादबले घोषणा गरेका छन् ।