काठमाडौं : मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार र बिहीबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
‘देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।