काठमाडौं : काठमाडौं–तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्गको ठेक्का पाएको चिनियाँ कम्पनीको प्राविधिक टोली काठमाडौं आइपुगेको छ । विमान चार्टर गरेर १४ जना प्राविधिक टोली बुधबार काठमाडौं आएको हो ।
टोलीमा पोली च्याङदा इन्जिनियरिङ कर्पोरेशनका टनेल , हाइवे इन्जिनियर, व्यवस्थापक लगायत छन् । डिजाइनको काम तत्कालै सुरु गर्न टोली काठमाडौं आइपुगेको नेपाली सेनाका सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए । उनका अनुसार टोलीले तत्कालै डिजाइनको काम सुरु गर्ने छ ।
दोस्रो प्याकेजमा मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नु पर्नेछ।सेनाले निकालेको ठेक्कामा आवेदन दिएका विभिन्न २२ कम्पनीमध्ये दोस्रो प्याकेजमा एउटा चिनियाँ कम्पनी मात्रै प्री-क्वालिफिकेसनमा छनोट भएको थियो।
सोही कम्पनीसँग करिब २८ अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको थियो। सोही सम्झौता अनुसार सेनाले कार्यादेश दिएपछि कम्पनीको टोली काम सुरु गर्न आएको हो। वैशाख ३१ गते कम्पनी र नेपाली सेनाबीच निर्माण सम्झौता भएको थियो। यो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट हुँदा प्रतिस्पर्धा नहुने भन्दै सार्वजनिक लेखा समितिले प्री-क्वालिफिकेसन रोकेर पुनस् नयाँ प्रक्रियाबाट थाल्न निर्देशन दिएको थियो ।
समितिले यो ठेक्कामा ठूलो चलखेल भएको हुन सक्ने भन्दै रोक्न भनेको थियो । सेनाले सार्वजनिक खरिद नियमावली र ऐन अनुसार नै रहेको भन्दै समितिको निर्देशन अटेर गरेरै निर्माण अघि बढाएको छ । कम्पनीको करिव ६ जनाको टोली यस अघि नै साइटमा सर्भेको काम गरिरहेको छ । कम्पनीको टोली आएसँगै कामले गति लिने अपेक्षा सेनाले गरेको छ ।
सेना आफैंले निर्माण गर्न नसक्ने भएपछि द्रुतमार्गमा बन्ने तीन वटा (करिब ६ किमी) सुरुङमार्ग चिनियाँ निर्माण कम्पनीबाट गराउन दुई कम्पनीसँग सम्झौता गरिसकेको छ । आफुसँग अनुभव नभएका कारण सुरुङमार्गसहित केही विशेष प्रकृतिका पुलको ठेक्का दुई प्याकेजमा दुई चिनियाँ कम्पनीलाई दिएको छ ।
पहिलो प्याकेज निर्माण जिम्मा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले पाएको छ। यो प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेवल पुल र सडकको सेक्सन छ। करिब २१ अर्ब ६१ करोड रुपैयाँमा ठेक्का पाएको हो। पहिलो प्याकेजको निर्माण कम्पनी पनि छिट्टै आउने सेनाले जनाएको छ। यो कम्पनीको पनि एउटा टोलीले सर्भेको काम गरिरहेको छ।
सेनाले ३ वर्ष ६ महिनामा सक्ने गरी दुवै ठेक्का लगाएको छ । ६ महिना डिजाइन र ३ वर्ष निर्माणका लागि समय राखिएको छ । ६ महिना डिजाइन सकेर निर्माण काम थाल्नुपर्ने चुनौती छ । सोही कारण कोरोना महामारीकै वीच यो टोली आएको हो ।