दोहा : कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने १८१ कम्पनी कारबाहीमा परेका छन् । कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने १८१ वटा कम्पनी कारबाहीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन् ।
प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको निरीक्षण गर्दा १८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पनि पक्राउ गरिएको छ । केही साइटहरूको पुनस् अनुगमन गर्दा टोलीले १३५ कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उद्धृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताइन् ।
नियम उलङ्घन गरेको बारेमा २२ वटा उजुरी इलेक्ट्रोनिक मिडिया मार्फत प्राप्त भएको उनले बताइन् । रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न आग्रह गर्न समेत अनुरोध गरिएको उनले बताइन् । कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।
दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ । – खबरहब