काठमाडौं : भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू भएको छ। हिजो लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो रेल सेवा शुभारम्भ गरिन् ।
भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको हो । समारोहमा अभिनेत्री जोअना लुम्लेले गोरखा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अङ्कित भइसकेको र रेलवेको नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् ।
गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय ऐतिहासिक भएको र नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गरिन् । ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् ।