काठमाडौं : सामूहिक राजीनामा दिएर प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय आयोजना कार्यन्वयन इकाइमा राजीनामा बुझाएर बिजुली बजार हुँदै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
झण्डै एक सय जनालाई प्रहरीले पक्राउ गरेको छ । सेवाबाट हटाउन लागिएको भन्दै करारमा नियुक्त इन्जिनियर, सब इन्जिनियरलगायत प्राविधिक कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका तर्फबाट ३२ जिल्लामा कार्यरत कर्मचारीले सामूहिक राजीनामा बुझाएका हुन् ।