काठमाडौं : नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले कम्पनीको नोक्सानलाई कम गर्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रूपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको उनले बताए । भने, ‘हाल आयल निगम निरन्तर घाटामा गइरहेको छ । नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मूल्यवृद्धि गरीएको छ ।’
आयल निगमले ९ असार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको साबिकको बिक्री मूल्यमा २ रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्रीमूल्य अमेरिकी डलर ७४५ प्रतिकिलोलिटर कायम गर्ने निर्णय गरेको छ ।
यति वृद्धि गर्दा पनि आयल निगम अझै घाटामा रहने उनको भनाई छ । उनले आगामी दिनमा पनि मूल्यवृद्धि हुनसक्ने बताएका छन् ।