जनकपुरधाम : धनुषामा आफैँले चलाएको टिपर किचेको अवस्थामा चालकको शव (लाश) फेला परेको छ । सबैला नगरपालिका १० लवटोलिमा च १ ख ९०९ नम्बरको टिपरले किचेको अवस्थामा चालक २८ वर्षीय बुद्ध लामाको शव फेला परेको हो ।
लामा उदयपुरको कटारी नगरपालिका २ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ । आफैँले चलाउने गरेको टिपरकै टायरले किचिएर मृत्यु भएको अवस्थामा लामाको शव फेला परेको हो । आफन्तले उनको मृत्युलाई शंकास्पद भन्दै अनुसन्धानको माग गरेका छन् । उनको हत्या भएको दावी आफन्तको छ ।
मृतक बुद्धका दाई हरि लामाले सुनियोजित रुपमा टिपरले किचेर भाइको हत्या गरिएको दाबी गरे । टिपरको चक्काले मृतकको टाउको क्षतविच्छेद भएको छ । इलाका प्रहरी कार्यालय सबैलाले पनि घटना शंकास्पद भएको जनाएको छ । प्रहरी निरीक्षक राजेश सिग्देलले शवसमेत नचिनिने अवस्थामा फेला परेकाले अहिले केहि भन्न नसकिने बताए ।
‘मृतकको अनुहार देखिएको छैन । घटना अनुसन्धानकै क्रममा छ । अहिले नै यही भएको हो भन्न सकिन्न,’ प्रहरी निरीक्षक सिग्देलले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ । केही समयपछि घटना विवरण सार्वजनिक गर्ने छौँ ।’
प्रहरीले शनिबार साँझ ६ बजे घटना भएको बताएपनि मृतकका आफन्तले भने शनिबार दिउँसो साढे ३ बजेतिरै घटना भएको दाबी गरेका छन् । चालकको शव फेला परेको ठाउँमा टिपर स्टार्टकै अवस्थामा थियो। प्रहरी पुगेर टिपरको स्टार्ट बन्द गरेको मृतक परिवारले जनाएका छन् ।
लामाको हत्या भएको भन्दै मृतक परिवारले शव उठाउन दिएका छैनन् । ‘घटनास्थलमा टिपर फँसेको देखिँदैन । टिपर ४/५ फिट ब्याक गरेर पछाडिबाट किचेको जस्तो देखिन्छ । यो सुनियोजित हत्या नै हो,’ मृतकका दाइ हरिले भने ।
घटनाको सुक्ष्म अनुसन्धान नभएसम्म शव उठाउन नदिने परिवारजनको अडान छ । उक्त टिपर सडक निर्माणमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ । – नेपाल खबर