टुडेखोज, जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेलामा धान बालीमा क्षति पुर्याएपछि जनकपुरधामका एक वडाध्यक्षले राहत दिने घोषणा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले आज पत्रकार सम्मेलन गरी आफ्ना वडाका पीडित किसानहरुलाई प्रतिकट्ठा ४० किलो धान राहत दिने घोषणा गरेका हुन् । उनले राहतका दिन क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिए ।
कार्तिक १ र २ गते भएको अविरल बर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको थियो । अहिलेसम्म संघ, प्रदेश र स्थानीय मध्ये कुनै तहको सरकारले पीडित किसानलाई राहत दिने घोषणा गरेका छैन् ।
तर वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने बताएका छन् । उनले भने, ‘सरकारले किसानलाई राहत दिन चासो नदेखाएपछि आफ्नै घरबाट राहत दिने घोषणा गर्दछु ।’
यसअघि पनि वडाध्यक्ष साहले कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरीब, विपन्न र असहायहरुका लागि नि:शुल्क खाना खुवाएका थिए । साथै आफ्ना वडाका हरेक गरिब परिवारलाई विभिन्न खालको सहयोग समेत उनले गर्दै आएका छन् ।