काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको जारी बैठकको दोस्रो दिन मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादवलाई अपमानपूर्वक हटाएकाले राउत विरुद्ध सदस्यहरु खनिएको एकजना सहभागीले जनाए ।
रायको पक्षमा पूर्व राजपा र पूर्व नयाँशक्तिका नेताहरु खुलेर बोलेका थिए । पार्टीका मन्त्रीलाई पदमुक्तगर्दा एकलौटी रुपमा गर्न नहुने भन्दै सदस्यहरुले आलोचना गरे । ‘पार्टीको कुनै निकायमा छलफल नै नगरी मन्त्रीलाई हटाउनु तानाशाही हो,’ डा. बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले भनिन्, ‘पार्टीमा छलफल नै नगरी मनपरी ढंगले काम गर्ने अधिकार कसैलाई छैन् ।’
पूर्व नयाँ शक्तिका नेताहरु मुख्यमन्त्री राउतलाई केन्द्रमा राखेर अध्यक्ष यादवमाथि खनिएका थिए । उनीहरुले घुमाउरो ढंगले अध्यक्ष यादवको विरोध गरेको बैठकमा सहभागी एकजना सदस्यले जनाए । पदमुक्त गरिएका रायले आफूलाई हटाउन पार्टीको कुनै निकायले निर्णय गर्नुपर्नेमा सोझै अपमानपूर्ण ढंगले बिनाकारण हटाउनु खेदजनक रहेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भ्रष्टाचार भएको ठहर गरिसकेकोछ’ रायले भने, मुख्यमन्त्री राउतले राजिनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनु पर्छ । मुख्यमन्त्रीले राजिनामा नदिए अख्तियारले विशेष अदालतमा मुद्दा गरेपछि स्वतःपदमुक्त भएपछि पार्टीको प्रतिष्ठामाथि ठूलो आघात पुग्ने उल्लेखगर्दै रायले भने, समयमै पार्टीको नेतृत्व तहले उपयुक्त कदम चाल्नु पर्छ । बैठकमा मुख्यमन्त्री राउतले भने आफ्नो बचाउ गरेका थिए ।
उनले नेकपा (एस)लाई सरकारमा ल्याउने बाध्यकारी अवस्थामा मन्त्री रायलाई राजिनामा दिएर सहज बनाइदिन आग्रह गर्दा पनि नमानेको आरोप लगाए । बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप्ने निर्णय गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु-याउन संख्या थप गर्न लागिएको छ ।
१६ जनालाई कार्यकारिणी समितिमा थप गर्नुपर्ने भएपनि हाललाई ४ जनाको स्थान रिक्त राखिने बैठकमा सहमति भएको छ । बैठकमा बोल्ने नेताहरुले अध्यक्ष उपेन्द्र यादवलाई कसैसित कुनै विभेद नगरी सिंगो जसपाको नेता बन्न आग्रह गरे । पार्टीलाई दुर्घटनामा नधकेल्न अध्यक्ष यादवलाई आग्रह गर्दै विगतमा देखिएको अवस्थाको पुनरावृति हुन नदिन समेत सचेत रहन आग्रह गरे ।
मंगलवार बैठकको अधिकांश समय मुख्यमन्त्री राउतको राजिनामा र रामनरेश राय प्रति सहानुभूति जनाउनमै खर्च भएको थियो । बैठकमा पूर्व मन्त्री राजकिसोर यादव, मुख्यमन्त्री लालबाबु राउत, नवराज, गंगा श्रेष्ठ, अमृता अग्रहरी, गजाधर यादव लगायतले आ–आफ्ना धारणा व्यक्त गरे ।बैठक बुधवार १ बजे फेरि बस्ने बताइएको छ ।