जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित धनुष जनता उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित बनेपछि विद्यालय व्यवस्थापन समिति गठन गर्न सहमती बनेको छ ।
विगतमा भएको सहमती अनुसार विद्यालय व्यवस्थापन समिति चयन नगरेको भन्दै विद्यार्थीहरु उक्त विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहविरुद्ध प्रदर्शन गरे । आक्रोशित विद्यार्थीहरु धनुषाधाम बजारमा टायर पनि बाले । त्यसपछि विद्यालयको गेट तोडफोडमा उत्रेका विद्यार्थी र प्रहरीबीच झडप समेत भयो ।
नेपाल प्रहरीले संयमता अपनाउदा विद्यार्थीहरु घाईते भएनन् । प्रहरीले हस्तक्षेप गर्दा पनि विद्यार्थीहरुले आन्दोलन जारी गरेपछि विद्यालयका प्रधानाध्यापक साह विद्यालय व्यवस्थापन समिति ४ दिनपछि चयन गर्न सहमत भएका हुन् । स्थानीय प्रहरीका अनुसार मंसीर १४ गते विद्यालय व्यवस्थापन समिति चयन गर्ने सहमतीपछि विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् ।
हुन त एकमहिना अगाडी नै मंसिर १० गते समिति चयन गर्ने सर्वपक्षीय सहमती भएको थियो । तर नेकपा एमालेका नगर प्रतिनिधिले राष्ट्रिय महाधिवेशनमा जान लागेको भन्दै समिति चयन स्थगित गर्न पत्र लेखेका थिए । सो पत्रकै बहानामा प्रधानाध्यापक साहले समिति चयन गर्न अभिभावक भेला स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका थिए ।
विद्यालय व्यवस्थापन समिति नरहेकाले शिक्षकहरु मनपरी गर्ने गरेको विद्यार्थीहरुको आरोप छ । सबै विषय पठन–पाठन हुनुपर्ने उनीहरुको माग छ । तर प्रधानाध्यापक साह अटेर गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् ।