काठमाडौं । चाड पर्व सकिएसँगै निर्माणको सिजन सुरु भएको छ । सामन्यतः निर्माणको सिजन सुरु भएसँगै निर्माण सामाग्रीहरुको मूल्य पनि बढ्ने गर्छ । तर, यस बर्ष निर्माणको सिजनमै निर्माणमा नभई नहुने सामाग्री सिमेन्ट र डन्डीको मूल्य घटेको व्यवसायीले बताएका छन् ।
अहिले फलामे डन्डीको मूल्य किलोमा १२ रुपैयाँसम्म घटेको नेपाल स्टिल बिलेट उत्पादक संघले जनाएको छ । ‘अहिले बिलेटको मूल्य घटेर आर्थिक बर्षको बजेट आउने (जेठ) वरिपरिकै हाराहारीमा झरेको छ’ संघका एक प्रतिनिधिले भने, ‘बिलेट र डन्डीको मूल्य अन्तर्राष्ट्रिय बजारमै ओरालो लागिरहेको छ ।’
अहिले बजारमा ब्रान्ड हेरिकन प्रतिकिलो ९५ रुपैयाँदेखि १०५ रुपैयाँसम्म उपभोक्ताले डन्डी किन्न पाउने बताइएको छ । यो मूल्यमा ढुवानी, भ्याट, बिक्रेताको नाफा लगायत सबै मूल्य जोडिएको छ । यस बिचमा डन्डीको मूल्य बढेर प्रतिकिलो १०५ रुपैयाँदेखि ११५ रुपैयाँसम्म पुगेको थियो ।
विश्वभरी कोभिड महामारी कम हुँदै गएको, डन्डी उत्पादनमा नभइन नहुने कोइलाको मूल्य आकासिएको लगायत कारणले डन्डीको मूल्य बढेको थियो । तर, पछिल्ला दिनमा अफ्रिका, युरोप लगायत मुलुकमा कोभिडको नयाँ भेरियन्ट भेटिन थालेको र अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य पनि घट्दै गइरहेको हुँदा डन्डीको भाउ घट्न थालेको संघको भनाई छ ।
विश्वभरी कोभिडको तेस्रो लहर फैलिने त्रासमा कोइला, फलाम लगायत वस्तुहरुको माग घट्न थालेपछि मूल्य पनि घट्न थालेको बताइन्छ । दक्षिण अफ्रिकामा पत्ता लागेको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा फेला परेका छन् ।