जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा एकलौटी रुपमा मनोमानी ढंगले प्रतिनिधि छनौट गरेको आरोप लगाउँदै असन्तुष्ट नेता कार्यकर्ताहरुले निधिविरुद्ध जनकपुरधामस्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
धनुषाको क्षेत्र नम्बर ३ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिले पार्टीको विधान र निर्वाचन प्रक्रिया विपरीत अलोकतान्त्रिक तरिकाले आइतबार आफ्नो भाइ धिरेन्द्र निधिलाई क्षेत्रीय सभापति बनाएको र अन्य पदाधिकारीको घोषणा गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा विरोध प्रदर्शन भएको हो ।
यसरी विरोध जनाउनेहरुमा शम्भुनाथ झा, प्रवेश चौधरी, ललन चौधरी लगायतका नेताहरु रहेका छन् ।
असन्तुष्ट नेता कार्यकर्ताले जिल्ला निर्वाचन र केन्द्रीय निर्वाचन कार्यालयमा धनुषा क्षेत्र नम्बर ३ को अधिवेशन खारेजीको माग गर्दै निवेदनसमेत पठाएका छन् । उनीहरु जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराउन जाँदा त्यहाँ कोही नभेटाएपछि इमेलमार्फत निवेदन दर्ता गराएका हुन् ।
पार्टीका नेता प्रवेश चौधरीले भने, ‘क्षेत्र नम्बर ३ मा गरिएको पदाधिकारी चयनको गलत प्रक्रियाको हामीले विरोध गर्दै जिल्ला र केन्द्रीय निर्वाचन कार्यालयमा इमेल मार्फत निवेदन दर्ता गराएका छौँ ।’ चौधरीले उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको बताए ।