जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवविरुद्ध ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रशासनले पक्राउ नगरेपछि जनता समाजवादी पार्टी ९जसपा० आन्दोलन सुरु गरेको छ ।
आईतबार जसपाका सयौं नेता कार्यकर्ता मिर्चैया बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले बजारको विभिन्न भागमा परिक्रमा पश्चात ईलाका प्रहरी कार्यालय मिर्चैया घेराउ समेत गरेका छन् । ‘भ्रष्ट मेयर मुर्दावाद’, ‘मेयर यादवको सम्पत्ती छानविन गर’, ‘अपराधी मेयर यादवलाई पक्राउ गर’ जस्ता नारा जसपाका नेता कार्यकर्ताले लगाएका छन् ।
उच्च सरकारी वकिलको कार्यालय राजविराजले मेयर यादवमाथि ज्यान मार्ने मुद्दा चलाउन भनेपनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएका कारण आन्दोलन गर्नुपरेको जसपा नेता अजय साहले बताए ।उनले मेयर यादव व्यापक भ्रष्टाचार गरेकाले सम्पत्ति छानविन गर्नुपर्ने माग समेत गरे । उनले भने, ‘मेयर यादवको सम्पत्ति छानविन र ज्यान मार्ने मुद्दामा पक्राउ नगरे जसपा चरणबद्ध आन्दोलन गर्छ ।’
कोरोना महामारीका कारण समस्यामा परेको दलित विपन्नलाई राहत वितरण गर्ने क्रममा मिर्चैयामा दोहोरो झडप भएको थियो । झडपमा घाईते आमोद भनिने विजय कुमार यादवले मेयर यादवमाथि मुद्दा दर्ता गराएका थिए । तर सरकारी वकिलको कार्यालय सिरहाले मुद्दा दर्ता नगर्ने निर्णय गरे । पछि उच्च सरकारी वकिलको कार्यालय राजविराजले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश जारी गरेको छ ।
उच्च सरकारी वकिल कार्यालय राजविराजको आदेश अनुसार मेयर यादवलाई हाजिर हुन पत्र पठाउने र हाजिर नभए पक्राउ गर्न ईलाका प्रहरी कार्यालयलाई जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले मंसीर ८ मै पत्राचार गरेको थियो । तर प्रहरीले हालसम्म मेयरलाई न उपस्थित गराएको छ, न पक्राउ गर्न चासो देखाएको छ ।