पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान (टीआईपी) ले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सबैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो ।
प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकेदारसम्बन्धी संघसंगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ । दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण तयार पारिएको हो ।
सर्वेक्षणअनुसार देशका ८५.९ प्रतिशत मानिसहरु केन्द्रीय सरकारप्रति असन्तुष्ट छन् । त्यस्तै पाकिस्तानको ठूलो जनसंख्या अर्थात ७२.८ प्रतिशतले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार तल्लो तहसम्म पुगेको बताएका छन् ।
सर्वेक्षणअनुसार इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) सरकारको शासनकालमा अहिलेसम्मकै बढी मूल्यवृद्धि भएको जनाइएको छ । पछिल्लो तीन वर्षमा आफ्नो आम्दानी निरन्तर घटिरहेको ८५.९ प्रतिशत पाकिस्तानीले गुनासो गरेको सर्वेक्षणमा उल्लेख छ ।
टीआईपीले भ्रष्टाचार र आर्थिक अनियमितताबारे अहिलेसम्म पाँच पटक सर्वेक्षण गरेको छ । पछिल्लो पटक सन् २०११ मा सर्वेक्षण गरेको टीआईपीले १० वर्षको अन्तरालपछि देशका चारै प्रान्तहरुमा यही अक्टोबर महिनामा देशव्यापी सर्वेक्षण गरेको थियो ।