कञ्चनपुर । लालझाडी गाउँपालिका ६ ढक्का शिविरका एक पुरूषको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यू हुनेमा ४५ वर्षीय खगिराज राना रहेका छन् ।
आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीका अनुसार झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएका थिए । स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भयो ।
‘हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे,’ अध्यक्ष भण्डारीले भने, ‘खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो-हल्ला गरी हात्ती भगायौँ, अस्पताल पुर्याउँदा उनको ज्यान गयो ।’
राना श्रीमती, बुहारी र नातिनतिनासँग शिविरमा बस्दै आएका थिए । हात्तीले उक्त शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको बुझिएको छ । झुपडी भत्काएपछि उनीहरु विचल्लीमा परेका हुन् ।