काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शाही शासनको समयमा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको केपी ओलीको आरोपप्रति कटाक्ष गरेका छन् ।
आज वक्तव्य जारी गर्दै प्रचण्डले ओलीको दरिद्र राजनीतिक चरित्र प्रदर्शित भएको भन्दै कथित सहमति प्रमाणित गर्न चुनौती दिएका छन् । प्रमाणित गर्न नसके जनतासामु माफी माग्नुपर्ने प्रचण्डको माग छ ।
‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’ प्रचण्डको भनाइ छ, ‘म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झूटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
निकै कडा भाषामा जारी गरिएको वक्तव्यको सुरुमै भनिएको छ, ‘दलाल पूँजिपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली झूट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई हालैको आफ्नै अभिव्यक्तिले प्रमाणित गरेका छन् ।’
एमाले अध्यक्ष ओलीले बुधबार तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पाँच बुंदे सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका थिए । ओली र प्रचण्डबीच केहि दिनदेखि निरन्तर घोचपेच जारी छ ।