रौतहट । सर्लाही र रौतहटलाई जोड्ने हुलाकी राजमार्गको बागमती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणको लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयबासीमा खुसी देखिएको हो ।
२०६७ जेठ ३१ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको बडहर्वा नजिकैको बागमती नदीको पुलको निर्माण हुँदाहुँदै निर्माण कम्पनीले छोडेको थियो । एक दशकभन्दा लामो समयदेखि अलपत्र रहेको पुलको निर्माणको लागि हुलाकी राजमार्ग आयोजनाद्वारा हालै बोलपत्र आह्वान गरिएको छ । बोलपत्र आह्वान भएपछि पुल निर्माण हुने आशा सर्लाही र रौतहटका स्थानीयबासीमा पुनः पलाएको छ ।
पुल नभएपछि सर्लाहीबासीलाई रौतहट र रौतहटबासीलाई सर्लाही पुग्न भारत भएर ओहोरदोहोर गर्नुपर्ने हुन्छ । नेपालकै बाटो जानको लागि कम्तीमा ३५ किलोमिटर लामो उत्तरतिर पूर्व–पश्चिम राजमार्ग पुगेर फेरि त्यत्तिकै बाटो फर्किनु पर्ने हुन्छ ।
रौतहटको समनपुर र धर्मपुरस्थित बागमती नदीमा पुलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि सडकको निर्माण नहुँदा अझै सजिलो गरी पुल संचालनमा आउन सकेका छैनन् । रौतहटतिर हुलाकी सडक निर्माणमा निकै प्रगति भएको देखिए पनि सर्लाहीतिरको काम भने अधुरै रहेको छ।
चालू आर्थिक वर्षमा सर्लाहीतिरको हुलाकी सडक पनि निर्माण हुने अपेक्षा गरिएको छ । दुवैतिर गाडी चल्न योग्य सडक बनिसकेको अवस्थामा पनि बागमतीमा पुल नहुँदा दुवै जिल्लाका स्थानीयबासीलाई सडक बन्दा पनि हर्ष न विस्मातको अवस्था रहेको थियो । अब बोलपत्र आह्वान भएपछि पुल निर्माणको औपचारिक प्रक्रिया सुरु भएकाले पुल निर्माण हुनेमा आशा बढेको बडहर्वाका स्थानीय सुधिर साहले बताएका छन् ।
हुलाकी सडकको बागमती नदीमा पुल निर्माणको लागि समय समयमा विभिन्न टोलीद्वारा दबाब दिइदै आएको थियो । पुल निर्माणको लागि संसदीय अनुगमन समितिको टोली, जिल्ला प्रशासन कार्यालय रौतहटको टोली, हुलाकी सडक आयोजनाको टोलीले कैयौँपटक स्थलगत अनुगमन गरेको थियो ।
विभिन्न मन्त्री तथा नेताहरुले पनि स्थलगत अनुगमन गरी पुल निर्माणको आश्वासन दिने गरेका थिए । अहिले बोलपत्र आह्वान गरिएको पुलको प्राविधिक डिजाइनमा केही परिवर्तन गरिएको हुलाकी राजमार्ग आयोजना टेकु काठमाडौँका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराएका छन् ।
साथै पुलको स्पान थप गर्ने, नदीको धार परिवर्तन गर्ने, पुलको एप्रोच सडक बनाउने र विम ढलान गर्ने लगायतको कामको लागि झन्डै असी करोड रुपैया बराबरको रकम विनियोजन गरेर बोलपत्र आह्वान गरिएको आयोजना निर्देशक झाको भनाइ छ । पुलको निर्माण भएपछि सर्लाही र रौतहटका लाखौँ बासिन्दा लाभान्वित हुनुका साथै यस क्षेत्रको व्यवसाय र रोजगारमा वृद्धि हुने सर्लाहीको बलरा नगरपालिकाको छतौना गाउँका मनमोहन सिंहको भनाइ छ ।
हुलाकी सडकको निर्माण कार्य पूरा भएको देख्न पाउन यस क्षेत्रको बासिन्दाको सपना भएको र समृद्धिको आधार भएको पनि सिंहको भनाइ रहेको छ । पुल निर्माणको लागि बोलपत्र आह्वान भएपछि सर्लाहीमा पनि खुसीको संचार भएको सिंहको भनाइ छ । – नागरिक