एजेन्सी : कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ । उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए ।
उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। सरकारले जारी गरेको आदेशमा बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा २ सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन् । सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ । आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ ।
बजारमा ‘मास्क नलगाउनेलाई सामान नदिने’ सन्देशसहित व्यापारीलाई सचेत गराइनेछ । मास्क नलगाएका ग्राहकलाई कुनै पनि पसलेले सामान बेच्न पाउने छैनन् । सडकरबजारमा सबैका लागि मास्क अनिवार्य गरिएको छ । प्रहरीले निरन्तर गस्ती गर्नेछ ।
भारतको कुनै पनि राज्य वा विदेशबाट उत्तर प्रदेशको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ(टेस्टिङ गरिनेछ । नेपालसँग सीमा जोडिएका जमुनाहा‚ ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा‚ भुजहवा‚ खकरौला‚ गौरीफण्टा‚ कोइलावास‚ नौतनवा‚ बढनी लगायतका नाकामा सुरक्षा कडा पारिएको छ ।
प्रदेशमा सञ्चालन हुने बस, रेलवे र विमानस्थलमा थप सतर्कता अपनाइनेछ । आइआइटी कानपुरका अनुसन्धानकर्ताले आफ्नो नयाँ अध्ययनमा फेब्रुअरी ३ मा कोरोना संक्रमण शिखर अवस्थामा पुग्ने बताएका छन् । टोलीको नेतृत्वमा हालसम्मका संक्रमितको समीक्षा गरिएको छ ।
बैठकमा मुख्यमन्त्री योगीले तेस्रो लहरलाई ध्यानमा राख्दै गाउँ र नगर क्षेत्रमा वडा वडामा अनुगमन समितिहरू पुनस् सक्रिय गराइने जानकारी दिएका छन् । उनले अनुगमन समितिले कोरोना व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताएका छन् ।
उनले बाहिरबाट आउने सबै व्यक्तिको परीक्षण गर्न आदेश समेत दिएका छन् । त्यस्ता आगन्तुकको स्वास्थ्यको निरन्तर अनुगमन गर्नुका साथै आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न र अस्पतालमा भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ ।