जयनाथ यादव, लहान । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको छ ।
शुक्रबार नै जनमत पार्टीका आन्दोलन समितिले किसानलाई रिहा गर लगायतका माग राखेर आजका लागि एकदिने आमहड्तालको घोषणा गरेको थियो । आमहड्तालको पूर्वसंध्यामा शनिवार जिल्लाको विभिन्न स्थानमा मशाल जुलुस समेत प्रदर्शन गरिएको छ ।
आज सिरहा जिल्लाभर अत्यावश्यक बाहेक यातायात, बजार, शैक्षिक संस्थाहरु, उद्योग कलकारखाना बन्द गराउने जनमत पार्टीले जनाएको छ । बन्द सफल पार्न जिल्लाबासीसंग आग्रह गरिएको छ ।
आन्दोलन किन ?
औरही गाउपालिकाले किसानलाई नै वितरण गर्न गहुं बीउ गोदाममा राखेको थियो । तर गाउपालिका अध्यक्ष सिदार्थ यादवले समयमा बीउ वितरण गर्न सकेनन् । बाध्य भएर किसानहरु गोदामबाट गहुं बीउ उठाएर लगे ।
बीउ किसानहरुले लगेपछि गाउपालिका अध्यक्ष सिदार्थ यादवले राजनीतिक प्रतिशोधका कारण प्रहरीमा चार जनामाथि मुद्दा दर्ता गराएर फसाउन खोजेका छन् । प्रहरीले एक किसानलाई पक्राउ समेत गरिसकेको छ। त्यसकै विरुद्ध जनमत पार्टी आन्दोलित बनेको हो ।
जनमत पार्टीले राखेको मागहरु :
१) गिरफतार गरिएका किसानलाई विनासर्त रिहा गर ।
२) किसान उपर लगाईएका झुठा मुद्दा फिर्ता गर ।
३) सरकारले सिचाईको व्यवस्था गर्नुपर्ने वा सिचाईको लागि विद्युत निशुल्क गर्नुपर्ने ।
४) किसानका लागि समयमा मल विउ र खादको व्यवस्था गर ।
५) हावा हुरी र बर्षाका कारण क्षति भएका वालीनाली वापत किसानको लागी राहत सिघ्र उपलब्ध गराऊ ।
६) किसानहरुको बालीनालीको उचित बजार मुल्य कायम गर ।
७) स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानवीन गरी दोषीलाई जेल चलान गर ।