एजेन्सी । अमेरिका र फ्रान्समा कोभिड संक्रमण फैलिएयताकै धेरै संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै अमेरिका र फ्रान्समा कोभिड संक्रमण उच्चदरमा फैलिएको हो ।
अमेरिकाको रोग तथा नियन्त्रण विभाग (सीडीएस)ले सोमबार मात्रै ४ लाख ४० हजार व्यक्तिलाई ओमिक्रोन संक्रमण भएको पुष्टि गरेको छ । यद्यपि विभागले क्रिसमसका कारण रिपोर्ट आउन ढिलो भएका कारण सार्वजनिक तथ्यांकमा केही फेरबदल हुनसक्ने जनाएको छ ।
यस्तै फ्रान्समा हालसम्मकै धेरै कोभिड संक्रमण पुष्टि भएको छ। फ्रान्ससँगै यो तथ्यांक युरोपकै हालसम्मको धेरै हो । फ्रान्समा मंगलबार मात्रै १ लाख ७९ हजार ८ सय सात कोभिड संक्रमण पुष्टि भएको छ । केही समयअघि मात्रै फ्रान्समा स्वास्थ्यमन्त्री अलिवियर वेरानले जनवरी महीनाको शुरुवातदेखि नै देशमा दैनिक २५ हजार व्यक्तिमा कोभिड संक्रमण भेटिन सक्ने चेतावनी दिएका थिए ।
युरोपका इटाली, ग्रिस, पोर्चुगल सहित बेलायतमा पनि मंगलबार कोभिड संक्रमणमा तीव्रवृद्धि भएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले समेत यसअघिका कोभिड भेरियन्टको तुलनामा ओमिक्रोन तीव्र हिसाबमा फैलिने बताउँदै सचेतना अपनाउन आग्रह गरिसकेको छ ।
यता भारतमा पनि कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ । गत मेयताकै सबैभन्दा बढी संक्रमित अघिल्लो दुई दिनमा फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण भने सुस्त देखिएको छ ।