सर्लाही । ईश्वरपुर नगरपालिकास्थित बजार क्षेत्रमा प्रहरी भ्यानको ठक्करबाट व्यापारीको मृत्यु भएको घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति बनाएको छ ।
घटनाको वास्तविकता बुझ्न प्रदेश २ दंगा नियन्त्रण प्रहरी बल प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र फुयाँलको संयोजकत्वमा छानबिन समिति बनाइएको छ ।
यस सम्बन्धमा प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवार, प्रदेश २ प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयका सई प्रेम कुमार साह र संघीय प्रहरी कार्यालय जनकपुरका प्रहरी हवल्दार प्रमोद कुमार यादव सम्मिलित छानबिन टोली बनाइएको छ ।
समितिलाई घटनाको सत्यतथ्य बुझेर प्रदेश २ प्रहरी कार्यालयमा प्रतिवेदन पेश गर्न भनिएको छ । गएको आइतबार राति ९ बजे आफूले सञ्चालन गरेको पसल बन्द गरेर फर्कने क्रममा महतोलाई प्रहरीको भ्यानले ठक्कर दिँदा मृत्यु भएको थियो ।
घटनाको विरोधमा त्यसको भोलिपल्टदेखि स्थानीयले हिंसात्मक प्रदर्शन गरेका थिए । उक्त क्रममा बजार क्षेत्र तनावग्रस्त भएको थियो । आक्रोशितहरूको प्रदर्शनले ठूलो रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले बयलबास बजार क्षेत्रमा दुई दिन निषेधाज्ञा जारी गरेको थियो ।
यता हिजो भएको पीडित पक्ष र प्रशासनबीचको सहमतिअनुसार मृतकका परिवारलाई १० लाख रुपैयाँ संघीय सरकारबाट राहत उपलब्ध गराउने निर्णय भएको थियो । साथै मृतककी श्रीमतीलाई उद्योग वाणिज्य संघको पहलमा रोजगारी उपलब्ध गराउन पनि पक्रिया थालिने सहमति भएको थियो ।