जनकपुरधाम । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दलित आरक्षित निर्वाचन क्षेत्रको प्रावधान हुनुपर्ने माग गरेका छन् ।
जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहुँचका लागि आरक्षित क्षेत्र निर्धारण हुनुपर्ने बताए ।
निर्वाचन दिनप्रतिदिन महंगो हुँदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘निर्वाचन महँगो हुँदै गएको छ, दलितहरूको आर्थिक अवस्था कमजोर छ, यस्तोमा प्रदेश २ मा एउटा पनि दलित समुदाय चुनाव जित्न सक्दैन । त्यसकारण उनीहरूको आरक्षण निर्वाचन क्षेत्र हुनुपर्छ ।’
विभेद र असमानता हटाउन मधेस आन्दोलन भएको उनले बताएका थिए। ‘दलित समुदायसँग अहिले पनि विभेद यथावत् छ, उनीहरू न्यायबाट वञ्चित छन् । त्यसकारण उनीहरूको राजनीतिक पहुँच बढाउनु आवश्यक छ,’ उनले भने ।