वीरगञ्ज । किशोरी मुस्कान खातुनको जीवनकथामा आधारित रहेर चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
चलचित्र ‘मुस्कान’का लागि नगरप्रमुख विजयकुमार सरावगीले मंगलबार फिल्म निर्माता रमित ढुंगानालाई पाँच लाखको चेक हस्तान्तरण गरे । रमित ढुंगाना फिल्म प्रडक्सन प्रालिले मुस्कानको बायोपिक बनाउन लागेको जनाए ।
नगर प्रमुख सरावगीले वीरगञ्जकी छोरीको जीवनीमा सामाजिक सन्देश दिने फिल्म बन्न लागेकोले सहयोग गरेको बताए । ‘वीरगञ्जकी छोरी मुस्कान खातुनको बारेमा फिल्म बन्न लागेको रहेछ, एसि’ड आक्र’मणविरुद्धको सन्देश दिने भएकोले महानगरले सहयोग गरेको हो- उनले भने ।
वीरगञ्जकी मुस्कान खातुनमाथि ०७६ भदौ २० गते बिहान रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसि’ड प्रहार भएको थियो । यसअघि माया नमार, बुद्ध वर्न इन नेपालजस्ता फिल्म निर्माण गरिसकेका ढुंगानाले ‘मुस्कान’ बनाउन लागेका हुन् ।
निर्माता ढुंगानाका अनुसार मुस्कान खातुनलाई सहयोग गर्ने उद्देश्यले ‘बुद्ध वर्न ईन नेपाल’को काठमाडौंमा च्यारिटी शो राखिएको थियो । त्यही समयमा मुस्कानको बारेमा पनि फिल्म बनाउने सोच आएको उनको भनाइ छ । च्यारिटी शोबाट उठेको ५० हजार रुपैयाँ मुस्कानको उपचारका लागि सहयोग गरिएको उनले बताए ।
‘फिल्म बनाउन एक करोड खर्च हुने अनुमान गरेका छौं, स्क्रिप्ट तयार छ । वीरगञ्जकै चेली भएकोले महानगरपालिकाको पनि स्वामित्व रहोस् भनेर सहयोग माग गरेका थियौं’ ढुंगानाले भने, ‘पाँच लाख रुपैयाँ दिनुभएको छ । अन्य आवश्यक सहयोग गर्ने आश्वासन पाएका छौं ।’