धर्मेन्द्र पासवान, सिरहा । कोभिड-१९ कोरोना भाइरसको महामारीको पहिलो लहर देखि नै गरीब, असहाय, विपन्न तथा एकल महिलाहरुलाई स्व. संगीता कर्माचार्यले गरेका सहयोग कार्यलाई उनका श्रीमान महेश चौधरीले निरन्तरता दिएका छन् ।
समाजसेवी चौधरीले श्रीमती संगीता कर्मचार्यको स्मृतिमा पुस २२ मा संगीता कर्मचार्य स्मृति प्रतिष्ठानको नामबाट दलित वस्तीमा २ सय कम्वल वितरण गरेका हुन् । समाजसेवी चौधरीले निजी लगानीमा दुई वर्षदेखि राहतको नाममा केही न केही वितरण गर्ने कार्यलाई निरन्तरता दिंदैँ आएका छन् ।
सिरहाको लहान नगरपालिकाको वडा २४ मानिकदहमा ३५ जनालाई, वडा १५ मा ६० जनालाई, वडा १२ मा ५० जनालाई र वडा २२ मा ५५ गरि जम्मा २ सय कम्वल वितरण गरिएको छ । तराईमा शीतलहर चलेका बेला गरिब, विपन्न, असहायहरुलाई संगीता कर्माचार्य स्मृति प्रतिष्ठान लहानले कम्वल वितरण गरेको प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी महेश चौधरीले जानकारी दिए ।
चौधरी नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र १ का क्षेत्रीय सभापति पनि हुन् । उनले ढोढनाको वडा कार्यालयमा कम्मल वितरण गर्ने क्रममा एक जना विपन्नले खानेपानीको समस्या लिएर आउँदा खानेपानीक्व लागि ट्युबवेलको व्यवस्था गर्ने प्रतिवद्धता गर्दै भने, ‘यदि कसैलाई कुनै प्रकारको समस्या छ भने अन्य नेताहरुलाई गुहार्नु भन्दा एक पटक मलाई भन्नु त्यो समस्याहरु कुन हिसाबले समाधान हुन्छ त्यसको समाधान गर्न म सक्दो प्रयास गर्छु ।’
समाजसेवी चौधरीले लहान नगरपालिका लगायत सिरहाको अन्य ठाउँहरुमा पनि अहिलेसम्म ४ हजार परिवारलाई राहत वितरण गरिसकेको छ । जसको लागि उनले आफ्नो गोजीबाट ७०/८० लाख हाराहारीको खर्च गरिसकेका छन् भने साथीभाइको सहयोगमा भने एक करोडभन्दा माथि नै खर्च गरिसकेका छन् ।