काठमाडौं । सरकारले तोकेको उखुको समर्थन मूल्यमा राष्ट्रिय कृषि श्रमिक संघ नेपालले आपत्ति जनाएको छ । सरकारले तोकेको समर्थन मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यो किसानप्रतिको धोका भएको संघको भनाइ छ ।
सरकारले पुस २१ मा उखुको समर्थन मूल्य ५९० रूपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । तर, किसानहरूले भने ७०० रूपैयाँ प्रतिक्विन्टल हुनुपर्ने माग गरेका थिए । ‘सरकारले उद्योगीहरूको हित रक्षाका लागि यो समर्थन मूल्य कायम गरेको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘किसानको हितमा समर्थन मूल्य कायम गरेको होइन, कृषिप्रधान देशमा पनि किसानको पक्षमा सरकार नउभिनु दुःखद् र पीडादायी छ,’ विज्ञप्तिमा उल्लेख छ । उखुको मूल्य कात्तिक मसान्तमै तोक्नुपर्ने भए पनि अहिले मिल सञ्चालन भइसकेपछि तोक्नाले किसानलाई मूल्य स्वीकार गर्न बाध्य बनाइने संघको भनाइ छ ।
संघले उद्योग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ । सम्झौता अनुसारको नेपाल सरकारले कबुल गरेको रकममध्येको बाँकी रकम तुरुन्त भुक्तानी गर्न माग पनि संघले गरको छ ।